‘प्रधानमन्त्रीज्यू, संघीयतामा तराईलाई नठग्नुहोस्’

tharu‘प्रधानमन्त्रीज्यू, हाम्रो बारेमा ठूलो भ्रम फैलाइएको छ, यो भ्रम फैलाउनमा तपाईहरुको पनि स्वार्थ छ, यो भ्रम निवारण गरिदिन सहयोग गरिदिनुपरयो,’ राष्ट्रिय नागरिक पार्टी (नेपाल) का अध्यक्ष राजकुमार लेखीले यसो भन्दा प्रधानमन्त्री सुशील कोइराला एकछिन अक्क न वक्क परे।
कुरा हो आज बिहान प्रधानमन्त्री निवास बालुवाटारको। थारु कल्याणकारिणी सभाको नवनिर्वाचित केन्द्रीय समितिको तर्फबाट प्रधानमन्त्रीलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो। प्रधानमन्त्रीको भेटघाट कोठामा मिडिया खचाखच थिए।
लेखीले भने, ‘हामी आदिवासी जनजाति समुदाय, तराईको थारु लगायतका समुदायले जातीय राज्य मागेका छौं भन्ने भ्रम फैलाइएको छ, जातीय राज्य माग्ने अबुझहरुको सानो झुण्ड मात्र छ, हामीलाई पहिचानको समावेसी राज्य चाहिएको हो।’¬
प्रधानमन्त्री कोइरालाले थारु कल्याणकारिणी सभाको टोलीलाई निकै महत्व दिएर भेटेका थिए। प्रधानमन्त्रीसँग थारु कल्याणकारिणीका नवनिर्वाचित अध्यक्ष धनीराम चौधरी रउपाध्यक्ष कन्नुलाल चौधरीको चिनजान गराउँदै सभासद पदमनारायण चौधरीले भने, ‘महाधिवेशनमा धनीरामजीले एकसय २० मत ल्याउनुभयो, उहाँको प्रतिस्पर्दी उम्मेदवारले २० मत ल्याउनुभयो।’
कुरा सुनेर कोइराला मुसुक्क हासे। कोइरालाले भने, ‘म तपाईहरुको महाधिवेशनमा जसरी पनि जान चाहन्थें। थारु समुदाय नेपालको अत्यन्त प्राचीन वासिन्दा हो भन्ने मलाई थाहा छ, यो समुदायलाई माथि उठाउनुपर्छ भन्ने मेरो धारणा छ। तपाईहरु कार्यक्रम ल्याउनुस्, म पूर्ण सहयोग गर्छु।’
महाधिवेशनले पारित गरेका २१ बुँदे घोषणापत्र हस्तान्तरण गर्दै धनीरामले भने, ‘हामीलाई लोकतान्त्रिक संविधान चाहिएको हो। प्रधानमन्त्रीज्यूको अगुवाईमा मुलुकले लोकतान्त्रिक संविधान पाउँछ भन्ने हामीलाई विश्वाश छ।’
कोइरालाले जवाफमा भने, ‘तपाईको कार्यसमितिका सबैजनालाई लिएर आउनुस्, म सबैजनासँग भेट्न चाहन्छु। तपाईको मागपत्र सबै पढेर सुनाउनुस्।’
अध्यक्ष धनीरामले मागपत्र लामो भएको भन्दै त्यसबारेमा थारु कल्याणकारिणी सभाका सचिवालय सदस्य लेखीले ब्याख्या गर्नुहुन्छ भने। त्यसपछि लेखीले भने, ‘प्रधानमन्त्रीज्यू, तपाईहरुले देशलाई टाट पल्टाउने मोडलको संघीयता ल्याउन खोज्दै हुनुहुन्छ। हामी यो मान्दैनौं। संघीयता भनेको देशलाई टाट पल्टाउन होइन समृद्ध बनाउन चाहिएको हो।’
लेखीको कुरा कोइरालाले निकै ध्यानपूर्वक सुने। लेखीले भने, ‘सिंहदरबारको जस्तो प्रादेशिक सरकार बन्ने प्रदेश यो देशले कसरी धान्छ ? सानो र सस्तो प्रदेश बनाउनुस्, स्थानीय समुदायले अधिकार पाउने गरी स्थानीय स्रोतले धान्ने प्रदेश बनाउनुपर्छ।’
लेखीले थारु समुदायलाई अहिलेको शीर्ष नेताहरुले राजा महेन्द्रले झैं ठग्न खोजेको आरोप लगाउँदै भने, ‘महेन्द्रले तराईमा थोरै र पहाडमा धेरै जिल्ला बनाएर थारु लगायत तराईका समुदायलाई ठगेका थिए। अब तपाईहरुले त्यो ठगी बन्द गर्नुस्।’
लेखीले प्रधानमन्त्री कोइरालालाई प्रहार मात्र गरेनन्, अनौठो प्रशंशा समेत गरे। उनले भने, ‘नेपालका अहिलेसम्मका प्रधानमन्त्रीहरु सबैजना भ्रष्टाचारको आरोपमा चुर्लुम्म डुबेका छन्। तपाईलाई अहिलेसम्म जनस्तरबाट त्यस्तो आरोप लागेको छैन।’
लेखीको यो भनाइ सुन्दा कोइराला झण्डै बसिरहेको कुर्सीबाट उठेका थिए। त्यसपछि लेखीले अगाडि भने, ‘तपाईको यो स्वच्छ छवी कायम रहोस्, भ्रष्टाचारमा मुसिने कुनै काम नगर्न आगामी दिनमा पनि सचेत रहनुस्, थारु कल्याणकारिणी सभाको शुभकामना छ।’

source:http://www.newsvitta.com.np/

Comments

Popular Posts