माटोका गीत गाउने थापा रहेनन

                          माटोका गीत गाउने थापा रहेनन




‘हरियो डाँडामाथि, हलो जोत्ने साथी, हो हो माले हो हो, हो हो तारे हो हो...’ जस्ता गाउँले भाकालाई टिपेर जनजिब्रोकै शैलीमा गाउने लोकगायक तथा लोकगीत अन्वेषक जनकविकेशरी धर्मराज थापाको भौतिक शरीर अब रहेन । 

नेपाली ग्रामीण जीवनका गीत गाई तिनलाई सुमधुर भाका हालेर नेपाली लोकगीतलाई राष्ट्रिय अन्तर्राष्ट्रिय बनाउन उहाँले खेलेको भूमिका भने अजर अमर रहिरहनेछ ।  थापाका ‘हाम्रो तेन्जिङ शेर्पाले चढ््यो हिमाल चुचुरा...’, ‘धानको बाला झुल्यो हजुर देसै रमाइलो...’, ‘आज मादल बजेको किन गाउँघर दुनियाँ ब्युँझाउन...’ ‘नेपालीले माया मारयो बरिलै...’ जस्ता चर्चित लोकभाकाका सयौँ गीत पाठक स्रोतामा झिजेका छन् । 

मष्तिष्काघातका कारण आज बिहान आफ्नै निवासमा निधन हुनुभएका ९२ वर्षीय थापाको भौतिक अभावले नेपाली भाषा र लोकसंस्कृतिमा चासो राख्ने जो कोही पनि यतिखेर शोकमा छन् ।  लोेकसाहित्यप्रेमी उहाँप्रति श्रद्धाञ्जलिका लागि उहाँको निवास, कमलादीस्थित नेपाल प्रज्ञा –प्रतिष्ठान र पशुपति आर्यघाटमा पनि लामवद्ध देखिनाले त्यही कुराको आभास दिलाउँछ ।

नेपालमा गन्धर्व जातिको संस्कृतिलाई चर्चामा ल्याउने अग्रणी व्यक्तित्व थापा नेपालका ७५ वटै जिल्लाका साथै भारत प्रवासका नेपाली रहने ठाउँमा पनि नेपाली लोकसंस्कृतिलाई पुरयाउने महत्वपूर्ण प्रतिभा हुनुहुन्थ्यो । 

नेताका स्मृतिमा थापालोेकसाहित्यप्रेमी  र स्रष्टा मात्र होइन राजनीतिक नेता र सामाजिक क्षेत्रका व्यक्ति पनि उहाँको त्यो योगदानको मुक्तकण्ठले स्मरण गर्छन् । प्रज्ञा –प्रतिष्ठानमा श्रद्धाञ्जलिका लागि पुग्नुभएका एकीकृत नेकपा(माओवादी)का नेता डा बाबुराम भट्टराईले जनताका भाकामा गाउने थापाले हलीगोठालाका गीत गाएर चेतना अभिवृद्धि गराएको बताउनुभयो । 

थापाको पार्थिव शरीरमा पुष्पार्पण गरेपछि नेकपा (एमाले) का सचिव तथा साहित्यकार प्रदीपकुमार ज्ञवालीले नेपाली लोकसाहित्यका क्षेत्रमा मृदुभाषामा गीतको रचना गरेका थापा समग्र साहित्य जगत्कै अनुकरणीय व्यक्तित्व भएको स्मरण गर्नुभयो । एमाले सभासद् रवीन्द्र अधिकारीले लोकभाकामा नेपाली जनजीवनको जीवन्त चित्रण गर्ने थापाको योगदान नेपाली लोकसाहित्यका क्षेत्रमा युगाँसम्म जीवित रहने बताउनुभयो ।

यस्तै नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले भन्नुभयो, “गाउँ गाउँ र टोल टोलमा नेपाली लोकभाकाका माध्यमबाट चेतना जगाउने थापाको निधनबाट अतुलनीय क्षति पुगेको छ ।”
नेकपा–माओावादीका प्रवक्ता पम्फा भुसालले पनि थापाका योगदान अविष्मरणीय रहेको बताउनुभयो । 

दौँतरी र स्रष्टाका सम्झनाप्रज्ञा–प्रतिष्ठानका कुलपति डा गङ्गाप्रसाद उप्रेतीले थापाले नेपाली लोकसाहित्य र गायनका क्षेत्रमा विशिष्ट योगदान दिनुभएको भन्दै उहाँको निधनले नेपाली वाङ्यमयका क्षेत्रमा अपूरणीय क्षति हुन गएको जनाउनुभयो । 

पछिल्ला दशकमा थापासँगै पोखरामा सिर्जनाकर्ममा क्रियाशील नेपाल सङ्गीत नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरूभक्तले लोकजनजीवनको अनुसन्धानमा पनि उहाँको महत्वपूर्ण योगदान गर्नुभएको बताउनुहुन्छ । “नेपाली सङ्गीत र वाङ्मय क्षेत्रका सबैभन्दा अग्लो व्यक्तित्व थापाले नेपाली भाषा र लोकसंस्कृतिको जर्गेनामा पुरयाउनुभएको योगदान नेपाली लोकवाङ्मयका लागि अतुलनीय छ ।”–सरुभक्तले रासससँग भन्नुभयो ।

नेपाली समाजका वास्तविकता तथा स्वदेश तथा प्रवासमा रहेका नेपालीको पीडा तथा व्यथालाई जीवन्त रुपमा चित्रण गर्ने सरल शैलीका धनी थापा माटोअनुकूलको गीत गाउने व्यक्ति रहनुभएको सङ्गीतनाट्य प्रज्ञा –प्रतिष्ठानका उपकुलपति शम्भुजित बास्कोटाको भनाइ छ ।

प्रज्ञा –प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला लोकसङ्गीत र संस्कृतिका उन्नायक थापा नेपाली जातीको आत्मगौरव, आत्मसम्मानका पक्षमा समाजका वास्तविकतालाई लोकभाकाका माध्यमबाट चित्रण गर्ने व्यक्तिका रुपमा रहनुभएको बताउनुहुन्छ ।
गीतकार धनेन्द्र विमलका विचारमा गाउँ गाउँ र टोल टोलका विषयवस्तुलाई सरल भाषामा प्रस्तुत गरेका थापाले नेपाली लोकसङ्गीतका क्षेत्रमा गरेको योगदानको राष्ट्रले उच्च मूल्याङ्कन गर्नुपर्ने बताउनुभयो ।
कवि तीर्थ श्रेष्ठ थापालाई ‘लोकसंस्कृतिका धरोहर’ रूपमा लिनुहुन्छ । उहाँ सम्झनुहुन्छ, “म २०३९ सालमा विद्यालयमा पढ्दै गर्दा थापाले त्यहाँ आएर आफ्नो नेपाल भ्रमणको गाथा र लोकसंस्कृतिका अनुभवबारे सुनाउनुभएको थियो ।” थापाले जता पुग्यो त्यही मीत लगाउने प्रचलन सुरु गरेर पनि जनताबीच हार्दिक संस्कृतिको नमूना प्रदर्शन गर्नुभएको थियो ।

कृति र पुरस्कारपोखरा उपमहानगरपालिका–१६ बाटुलेचौरमा पिता हर्कबहादुर र माता मनमायाबाट विसं १९८१ साउन १ गते जन्मनुभएका थापाले  २०२५ सालमा मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । उहाँको पहिलो रचना ‘पहाडी जीवन’ (गीतिसाहित्य, २००३) हो ।  थापाका ‘रत्नजुरेली’, ‘वनचरी’, ‘रानीपोखरी’, ‘कोसेली’, ‘कालीको लहर’, ‘तिलोत्तमाको भेल’, ‘शीतलपाटी’, ‘मिर्मिरेको रन्को’, ‘मेरो नेपाल भ्रमण’, ‘पहाडी सङ्गीत’, मङ्गलीकुसुम’, ‘गण्डकीको सुसेली’, ‘सगरमाथाको सेरोफेरो’, ‘चितवन दर्पण’, ‘दिव्य चौतारी’, ‘गोलसिमल’, ‘तनहुँका फूलबारी’, वासन्ती–वसन्त’, ‘लोकसंस्कृतिको घेरामा लमजुङ’, ‘लोकसाहित्य विवेचना’लगायत कृति प्रकाशित छन् ।

‘लामिछाने थापाको वंशावली’, लेखनाथ शतवार्षिकी स्मारिका र ‘डाँफेचरी पत्रिका’ को सम्पादन पनि गर्नुभएका थापा महाकवि देवकोटा पुरस्कार, युगकवि सिद्धिचरण पुरस्कार, छिन्नलता पुरस्कार, जगदम्बाश्री पुरस्कारजस्तासम्मानबाट सम्मानित हुनुभएकोे थियो । 

थापाका नाममा लोकगीत सङ्गीतलाई प्रवद्र्धन गर्न धर्मराज थापा तथा सावित्री थापा प्रतिष्ठान स्थापना गरिएको  छ । थापाले गीतकार एस्पी कोइरालाको ‘चिरेर हेर...’ शब्द र यम बरालको बोल तथा श्रीओम रोदनको निर्देशन रहेको गीतमा भूमिका पनि निर्वाह गर्नुभएको थियो । 

गोरखापत्र संस्थान, नेपाल भाषा प्रकाशिनी समिति र रेडियो नेपालको लोकसंस्कृति विभागको प्रबन्धकमा रही सेवा सुरु गर्नुभएका थापा संस्कृति विभागको महानिर्देशकसम्म बन्नुभएको थियो ।

राष्ट्रिय सम्मानका साथ अन्त्येष्टिथापाको राष्ट्रिय सम्मानका साथ आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरियो । उहाँको पार्थिव शरीरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री दीपकचन्द्र अमात्यले राष्ट्रिय झन्डा ओढाउनुभएको थियो । उहाँका जेठा छोरा मदनराजले दागबत्ती दिनुभएको थियो । 


काँग्रेसको समवेदना नेपाली काँग्रेसले आज विज्ञप्ति प्रकाशन गरी लोकसङ्गीत, लोकसंस्कृति र लोकजीवनको पक्षमा सक्रिय भूमिका निर्वाह गरेका थापाले गन्धर्व संस्कृतिलाई मुलुकभर चिनाउन पनि योगदान पु¥याउनुभएको उल्लेख गरेको छ  । काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जारी गरेको विज्ञप्तिमा लोकसाहित्यको श्रीवृद्धिमा उहाँले महत्वपूर्ण योगदान पु¥याउनुभएको जनाइएको छ । 

Comments

Popular Posts